सुशील बस्नेत
दाङ,तुलसीपुर १९ मंसीर
“ अपांगता भित्रको बिबिधताः अवसर , प्रविधि र पुर्वाधारमा पहुचयुक्तता“ सम्बन्धित विषयक नागरिक संवाद कार्यक्रम तुलसीपुरमा मंगलबार सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनमा ३३ औ अन्तराष्ट्रिय अपाङता भएका ब्यक्तिहरुको दिवसका अवसरमा नागरिक संवाद आयोजना गरिएको हो । दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले तयार पारेको अबस्था बिश्लेषण सहितको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । शाखा सदस्य एवम अपाङताको अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी रजनी शाहले उक्त अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत अवधारणा पत्रमा अपाङ्गता भएको व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सिर्जित विभिन्न अवरोधहरूसँग अन्तरक्रियाको कारणले समाजमा अन्य व्यक्तिहरू सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गमा सहभागी हुन बाधा भएको व्यक्तिसमेतलाई उल्लेख गरिएको छ । अपाङगता भएका ब्यक्तिहरुका लागि गरिएका संबैधानिक तथा कानूनी ब्यबस्थालाई कार्यान्वयन गरिनुपर्छ । त्यसका लागि उनीहरुलाई राज्यको मुलप्रबाहीकरणमा ल्याउन शिक्षा,स्वास्थ्य,रोजगारी,सीप तथा क्षमता बिकासको अधिकार सुनिश्चीत गरिनुपर्नेमा जोड दिएको छ । त्यसका साथ साथै कानुन निर्माण प्रक्रिया,योजना तथा कार्यक्रम निमार्ण प्रक्रिया र बजेट कार्यान्वयन प्रक्रियामा समेत सहभागि गराउनुपर्ने उल्लेख गरिएको छ । साथै सकारात्मक सोच र बिकासबाटै परिवार,समाज र राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन बिभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएको छ । सो अवसरमा राष्ट्रिय अपाङ संघका जिल्ला अध्यक्ष देवा डाँगी,अपाङता भएका ब्यक्तिहरुका लागि थेरी निः शुल्क रुपमा संचालन गर्दै आउनुभएका अभियान्ता हुमाकान्त कँडेल, राप्ती बहिरा संघका अध्यक्ष अजय शर्मा,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरी बहादुर खडका,दृष्टीबिहीन– रामबहादुर खड्का,अपाङगताको क्षेत्रका अभियान्ता बञ्चुराम परियार लगायतले कानुन अपाङमैत्री बन्नुपर्ने र अव बन्ने कानुन अपाङ मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान बरिष्ठ उपसभापति सुशील बस्नेत, मानव केन्द्रिय सचिव निर्मल नेपाली, केन्द्रिय सदस्य तुलसीराम सुनार,शाखा सल्लाहकार निर्मल डाँगी योगी,तुलसीपुर उद्योग बाणिज्य संघका प्रतिनिधि दिपेश भण्डारी,तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारी,पत्रकार दिपक बोहरा,जित सागर जिएम र उदिराम चौधरी लगायतले अपाङता भएका ब्यक्तिलाई अवसर , प्रविधि र पुर्वाधारमा पहुचयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको नागरिक संवादमा स्वागत मन्तब्य उपसभापति अमृत प्रसाद शर्मा र सहजिकरण सहसचिव मधुसुदन गौतमले गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघ महासभाको घोषणा अनुरूप १९९२ देखि ३ डिसेम्बरलाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । सन् १९७६ मा संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउने निर्णय गरेको थियो ।
यसैगरी सन् १९८३ देखि १९९२ सम्म अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रसंघीय दशकका रूपमा मनाउने निर्णय महासभाले गरेको थियो । पहिले यो दिवसलाई अपाङ्ग दिवस भनिन्थ्यो, पछि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस भन्न÷लेख्न थालिएको छ ।